जुलाई २०२४

तपाईं अध्यागमनसम्बन्धी प्रक्रियाको प्रतीक्षामा रहनु भएको अवस्थामा हामी तपाईंलाई सम्पूर्ण जानकारी प्रदान गरी सहयोग गर्ने आशा गर्दछौं: 

हामी सीमा गस्ती (अध्यागमन प्रवर्तन) वा कुनै पनि माध्यमबाट सरकारसँग आबद्ध छैनौं। हामी स्वयंसेवक मानवीय सहायता कार्यकर्ता हौं।

सीमा गस्ती यहाँ दिनहुँ पटक पटक मानिसहरूलाई लिन आउने गरेको छ । हालै उनीहरू बिहान ८ बजे, दिउँसो २ बजे र राति ८ बजे आउने गरेका छन्, तर यो समय फरक हुनसक्छ।

यदि तपाईं शरणको लागि निवेदन दिन चाहनुहुन्छ भने, तपाईंले आफ्नो देश फर्किंदाको खतरा/डर बारे सीमा गस्ती एजेन्टहरूलाई बताउन जरुरी  छ। सीमा गस्तीले तपाईंलाई सोध्ने छैनन्, र उनीहरूले यो देशमा कुनै शरण दिने व्यवस्था नरहेको पनि भन्न सक्छन्, वा तपाईंलाई बेवास्ता गर्ने प्रयास गर्छन्।

यदि तपाईलाई स्वास्थ्य सम्बन्धी कुनै आकस्मिक सहयोग आवश्यक परेमा कृपया तुरुन्त स्वयंसेवक वा सीमा गस्तीलाई बताउनुहोस्।

यस शिविरको बारेमा:

● यस शिविरमा सबै कुरा नि:शुल्क छ। स्वयंसेवकहरूले यस ठाउँको प्रयोगको लागि कुनै पनि भुक्तानी माग्ने छैनन्।

● आगो वा वनस्पति जलाउने काम नगर्नुहोस्।

● टोकरी वा डस्टबिनमा मात्रै फोहोर फाल्ने गर्नुहोस् ।

● शौचालयको लागि तोकिएको ठाउँ प्रयोग गर्नुहोस्।

● अन्य व्यक्ति र यस स्थानको सम्मान राख्नुहोस् ।

● यहाँ सामान्यतया बिहान ७ बजे देखि दिउँसो ३ बजे सम्म स्वयंसेवकहरू उपस्थित हुन्छन्, तर कहिलेकाहीँ पूरै समय यहाँ उपस्थित हुन सक्दैनन्। हामी प्रायः यहाँ राति हुँदैनौं।

खाना: अत्यधिक गर्मी र सुख्खा हुने समयमा हामी स्टोभ प्रयोग गर्दैनौं र वितरण गर्न प्याकेज गरिएको खाना मात्र प्रयोग गर्छौं।

पानी: हामीसँग सामान्यतया यहाँ बोतलको पानी उपलब्ध हुन्छ। ठूला ट्याङ्कीहरूमा उपलब्ध पानी पिउन सुरक्षित छ। साथै निलो झण्डा नजिकैको इनारबाट निस्केको पानी पनि पिउनका लागि सुरक्षित छ।

स्वास्थ्य हेरचाह: कहिलेकाहीँ हामीसँग यहाँ आधारभूत चिकित्सा सेवा प्रदान गर्न सक्ने व्यक्तिहरू पनि हुने गर्दछन्। यदि तपाईंलाई कुनै सहायता आवश्यक छ वा आफू वा अन्य व्यक्तिको स्वास्थ्य समस्याहरूको बारेमा चिन्तित हुनुहुन्छ भने कृपया स्वयंसेवकलाई बताउनुहोस्। 

यदि स्वास्थ्य सम्बन्धी कुनै आकस्मिक आवश्यकता परेमा हामी सीमा गस्ती र आपतकालीन सेवाहरूसँग समन्वय गरी बिरामीलाई आपतकालीन सेवा प्रदान गर्ने स्थानमा पुर्‍याउने छौं।

वाइ-फाई: वाइ-फाई उपलब्ध छ। आफ्नो फोनमा वाइ-फाई खोल्नुहोस् र सजिलै नेटवर्क चयन गर्नुहोस्। यो अनलक हुनेछ।

फोन चार्जिङ: हामीसँग मोबाइल फोन चार्ज गर्ने सुविधा छ। कृपया धैर्य गरी यहाँ अन्य धेरै व्यक्तिहरू पनि छन् जो एकै समयमा आफ्नो फोन चार्ज गर्न चाहन्छन् भन्ने कुरा बुझ्नुहोला । यदि धेरै व्यक्तिहरू पर्खाइमा छन् भने, हामी तपाईंको फोन १००% चार्ज गर्न सक्दैनौं ।

छहारी र आराम कक्ष: मरुभूमिमा गर्मी घातक हुनसक्छ। कृपया आराम गर्नुहोस् जहाँ तपाईंसँग गर्मीबाट आराम र पानी उपलब्ध छ।

लुगा

स्वच्छता सामाग्री 

डायपर तथा शिशुसम्बन्धी सामाग्री 

तपाईं कहाँ हुनुहुन्छ:

● तपाईं अहिले सासाबे नामक संयुक्त राज्य अमेरिकातर्फको सहरमा रहेको बोर्डर पेट्रोल (सीमा गस्ती) स्टेसन सडक सँगसँगै ३५ किलोमिटर दूरीमा हुनुहुन्छ।

● हिडेर पुग्न धेरै टाढा छ र स्वस्थ व्यक्ति ई एक पूरा दिनभन्दा बढी लाग्न सक्छ।

● दिउँसोको समयमा यस क्षेत्रमा तापमान नियमित रूपमा ४० डिग्री सेल्सियसभन्दा बढी पुग्ने गरी अत्यधिक गर्मी हुने गर्दछ।

● यो ठाउँ र सीमा गस्ती स्टेशन बीचको भूभाग पहाडी क्षेत्र भएकोले कठिन छ।

● यहाँबाट करिब १२ किलोमिटर टाढा अर्को आराम गर्ने ठाउँ छ। त्यहाँ वाइ-फाई वा बिजुली छैन। हामी त्यहाँ खाना र पानी उपलब्ध गराउने प्रयास गर्छौं तर तपाईंलाई मद्दत गर्न त्यहाँ कुनै स्वयंसेवकहरू नहुन सक्छन्। 

● पहिलो १५ किलोमिटर सडकमा कुनै मोबाइल नेटवर्क छैन। त्यसपछि यो तपाईंको मोबाइल फोन कम्पनीमा निर्भर गर्दछ, तर भर पर्न सकिदैन। 

● जोखिमपूर्ण पैदल यात्रा गर्नुको सट्टा तपाईं यहीँ बस्नु सबैभन्दा सुरक्षित विकल्प हो।

शिविरमा आउने सीमा गस्ती: 

● पर्खालको छेउमा रहेको यस शिविरमा सीमा गस्ती दिनहुँ मानिसहरूलाई लिन आउने गरेको छ। सामान्यतया बिहान ८ बजे, दिउँसो २ बजे र राति ८ बजे, तर समय फरक हुनसक्छ।

● सधैँ होइन, तर कहिलेकाहीँ उनीहरू पूरै दिन वा त्योभन्दा धेरै समयको लागि नआउने पनि हुनसक्छ। पानी परेको बेला, वर्षाको कारण बाटोमा समस्या हुँदा वा अन्य कारणले क्षमता सीमित हुँदा उनीहरू नआउन सक्छन्।

● उनीहरू आफ्ना ट्रक लिएर मानिसहरूलाई भ्यानहरू भरिँदासम्म तिनीहरूको भ्यान पार्क गरिएको ठाउँमा लैजान धेरै पटक आउने जाने गर्दछन्।

परिवारहरू: सधैँ उनीहरूलाई आफ्नो परिवार को हो र परिवारसँगै बस्न चाहनुहुन्छ भनी बताउनुहोस्। तपाईं आफ्नो पति-पत्नी वा छोराछोरीबाट अलग हुनु हुँदैन। हिरासतबाट मुक्त नभएसम्म सँगै बस्ने प्रयास गर्नुहोस्।

● यदि उनीहरूसँग पर्याप्त ठाउँ नभएको खण्डमा सामान्यतया महिला, बालबालिका र परिवारलाई प्राथमिकता दिने गर्दछन्। कतिपय अवस्थामा उनीहरूले महिला र बालबालिकालाई परिवारबाट अलग गरेका पनि छन् ।

एकल पुरुष: यदि तपाईं एकल पुरुष हुनुहुन्छ र उनीहरूसँग सबैका लागि पर्याप्त ठाउँ छैन भने, अर्को पटक उनीहरू नआएसम्म तपाईंलाई शिविरमा छोडिने सम्भावना छ। यो तपाईंले थाहा पाउन जरुरी छ कि उनीहरू फिर्ता आउनेछन्, तर तपाईंले धेरै समय प्रतीक्षा गर्नुपर्ने हुनसक्छ। उनीहरूलाई बताउनुहोस् तपाईंलाई पहिले शिविरमा छोडिएको थियो र तपाईंलाई लैजान अनुरोध गर्नुहोस्।

स्वास्थ्य: यदि तपाईंलाई चोटपटक वा कुनै जटिल रोग छ वा औषधि आवश्यक छ भने उनीहरूलाई भन्नुहोस्। प्रत्येक पटक तपाईंलाई नयाँ ठाउँमा सरुवा गर्दा त्यहाँको अधिकारीलाई यो कुरा दोहोर्‍याउनुहोस्।

शरण: जब सीमा गस्तीले तपाईंलाई लिन आउँछन्, उनीहरूलाई भन्नुहोस्, “म अमेरिकामा शरणको लागि आवेदन दिन चाहन्छु।”

● यदि तपाईंलाई आफ्नो देश फर्किने डर छ भने, उनीहरूलाई भन्नुहोस्, “मलाई मेरो देश फर्किन डर लाग्छ।

● तपाईंलाई लिन आउँदा, स्टेशनमा आइपुग्दा, नयाँ अधिकारीसँग कुरा गर्दा र तपाईंलाई नयाँ स्थानमा सरुवा गर्दा यी कुराहरू दोहोर्‍याउनुहोस्।

आफ्नो सामानहरू: उनीहरूले तपाईंको झोला लिएको अवस्थामा सबैभन्दा महत्त्वपूर्ण चीजहरू आफ्नो खल्तीमा राख्नुहोस्। तपाईंलाई नयाँ स्थानमा सरुवा गर्दा वा हिरासतबाट रिहा हुनु अघि आफ्नो सामानहरू फिर्ता माग्नुहोस्

● शिविर छोड्नु अघि आफ्नो फोन बन्द गर्नुहोस्।

● उनीहरूले कहिलेकाहीँ जुत्ताको फिताहरू खोलिदिन्छन्, त्यसलाई निकालेर तपाईंले आफ्नो खल्तीमा राख्नको लागि।

● सीमा गस्ती एजेन्टहरू सधैँ विनम्र वा राम्रो स्वभावका हुँदैनन्। उनीहरू कहिलेकाहीँ झूट बोल्छन् वा चलाखी गर्दछन्। उनीहरूसँग कुराकानी गर्दा सावधानी अपनाउनुहोस्।

● सम्भव भएमा, यस शिविरमा तपाईंको अनुभव र हिरासतबाट रिहा नभएसम्मको तपाईंको अनुभव रेकर्ड  राख्नुहोस् ।

तपाईंलाई सीमा गस्तीले लागेपछि:

● तपाईंलाई पहिले त एरिजोनाको सासाबे सहरको नजिकैको सीमा गस्ती स्टेशनमा लगिनेछ।

● स्वास्थ्य सम्बन्धी तपाईंका आवश्यकताहरूबारे सोध्न जारी राख्नुहोस्।

● परिवारसँगै रहन अनुरोध गरी राख्नुहोस्।

● शरणको निवेदनको लागि सोध्न जारी राख्नुहोस् र आफ्नो देशमा फर्किने डर व्यक्त गर्नुहोस्।

भाषा: तपाईंको आफ्नो भाषामा अनुवाद वा तपाईंको भाषा बोल्ने अधिकारीसँग कुरा गर्न माग गर्नुहोस्। तपाईंलाई देखाइएका सबै कागजातहरू तपाईंले पढ्न र बुझ्न सक्ने भाषामा हुनुपर्ने माग राख्नुहोस्।

सीमा गस्तीले तपाईंलाई हस्ताक्षर गर्न दिएको कुनै पनि कागजातमा हस्ताक्षर नगर्नुहोस्, जबसम्म त्यो तपाईंको भाषामा छैन वा तपाईं त्यसमा सहमत हुनुहुन्न। यदि तपाईंले नबुझेको कागजातमा हस्ताक्षर गर्नुभयो भने, त्यो निर्वासनको लागि हुनसक्छ, सीमा गस्तीले तपाईंलाई यो केका लागि हो नभनी वा यो अरू कुनै कामको लागि हो भने पनि। तपाईंले निर्वासन फारममा हस्ताक्षर गर्नुभयो भने त्यसको मतलब आफू तत्काल निर्वासित हुने र थप ५ वर्षसम्म शरणको लागि आवेदन दिन अनुमति नपाउने कुरामा तपाईं सहमत भएको बुझिन्छ । निर्वासन फारममा हामीलाई जानकारी नभएका अन्य आदेशहरू पनि हुनसक्छन् ।

यो हिरासत कक्षमा अङ्ग्रेजी र स्पेनिश भाषामा राखिएको सन्देश हो:

यदि तपाईं:

● भोकै वा तिर्खाएको हुनुहुन्छ,

● स्वास्थ्य हेरचाहको आवश्यक्तामा हुनुहुन्छ,

● संयुक्त राज्य अमेरिकाबाट फिर्ता पठाइएमा यातनाको डरले त्रसित हुनुहुन्छ,

● दुर्व्यवहारको सिकार हुनुहुन्छ,

● यौन दुर्व्यवहारको सिकार हुनुहुन्छ,

● अपराध प्रत्यक्ष देख्नु भएको छ,

● अधिकारीलाई भन्नुहोस्। तपाईंको कुराहरू सुनिनेछ।

● तपाईंलाई एक डाक्टर वा स्वास्थ्य विशेषज्ञ, एक शरणार्थी सम्बन्धी अधिकारी, वा अन्य कानून विशेषज्ञकोमा पठाउन सकिन्छ।